Nepal Life Insurance

चार्टर्ड एकाउन्टेन्टले दिए मौद्रिक नीतिलाई सुझाव, वित्तीय सुशासन हुने गरी काम गर्न गभर्नरको आग्रह

आर्थिक पेज प्रकाशित मिति : June 29, 2020

काठमाडौं– चार्टर्ड एकाउन्टेन्टहरुको छाता संगठन नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ (एक्यान)ले आगामी मौद्रिक नीतिको लागि नेपाल राष्ट्र बैंकलाई सुझाव दिएको छ । वालुवाटारस्थित राष्ट्र बैंक कार्यालयमा गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर एक्यानका पदाधिकारीले लेखा तथा व्यवसायसँग सम्बन्धित नीतिहरुमा सहजीकरणका लागि आग्रह गरेका छन् ।

संघले कोभिड १९ ले सिर्जना भएको अप्ठेरो अवस्थामा बैंकिङ क्षेत्रमा हुनुपर्ने नीतिगत व्यवस्थासम्बन्धी प्रतिवेदन गभर्नर अधिकारीलाई बुझाउँदै मौखिक सुझाव समेत दिएको संघको विज्ञप्तिमा उल्लेख छ । प्रतिवेदनमा ऋणको पुनर्तालिकीकरण, ब्याजको पुँजीकृत कसरी गर्ने, ऋणको वर्गीकरण र प्रोभिजनमा अब कसरी गर्ने, एनएफआरएसमा विद्यमान कठिनाइ र त्यसको समाधान लगायत विषय समेटिएका छन् ।

अध्यक्ष आनन्द वाग्लेको नेतृत्वमा गएका संघका पदाधिकारीहरुको कुरा सुनेपछि गभर्नर महाप्रसाद अधिकारिले पारदर्शिता तथा लेखा सम्बन्धमा चार्टर्ड एकाउन्टेन्टहरुलाई सबै थाहा हुने भन्दै अहिलेको विषम परिस्थितमा वित्तीय सुशासन सन्तुलन रहने गरी काम गरिदिन आग्रह गरेका छन् ।

साथै प्रतिबेदनमा रिभेन्यु अडिट, बैंकहरुको शाखाको अडिट, नेपालबाट विदेशमा पुँजी तथा लाभांश लैजाँदा चार्टर्ड एकाउन्टेन्टको सर्टिफिकेट, ओभरड्राफ्ट लोन लिँदा चार्टर्ड एकाउन्टेन्टको सिफारिस चाहिने व्यवस्था तथा उनीहरुसँगै उनीहरुको फर्मलाई पनि सहुलियतमा कर्जा दिने व्यवस्था मौद्रिक नीति मार्फत नै गर्ने विषय समावेश गरिएका छन् ।

गभर्नर अधिकारीले सबैले आ–आफ्ना व्यवसायको हित हुने गरी आगामी मौद्रिक नीतिका लागि सल्लाह सुझाव दिइरहेको तर सबै क्षेत्रमा सन्तुलन रहने गरी काम गर्नुपर्ने भएकाले अहिलेको विषम परिस्थितमा चार्टर्ड एकाउन्टेन्टसको भूमिका महत्त्वपूर्ण हुने बताएका छन् ।
गभर्नर अधिकारिले मौद्रिक नीतिमा लेखा र लेखा परीक्षणलाई भिन्नै शीर्षक दिनलाई राष्ट्र बैंकका अधिकारिलाई निर्देशन दिएका छन् ।
अध्यक्ष वाग्लेले वित्तीय तथा अर्थतन्त्रको क्षेत्रमा अध्ययन तथा अनुसन्धान गर्नलाई प्रोत्साहन तथा सहयोग गर्ने सरकारी निकाय नभएको गुनासो गर्दै कम्तीमा बैंक वित्तीय संस्थाले छुट्याउने सामाजिक उत्तरदायित्वको बजेटबाट यो काम हुने व्यवस्था मिलाउनलाई राष्ट्र बैंकलाई सुझाए ।

त्यस्तै, राष्ट्र बैंकसँगको छलफलको लागि सहजीकरणको भूमिका निभाएका उपाध्यक्ष रमेश धितालले गभर्नरको जिज्ञासामा एनएफआरएसमा हाल रहेका प्रभावकारी ब्याजदर, कन्सोलिडिएसन, लगायतका कार्भ आउटको बारेमा र यसको अवधि र कार्यान्वयनमा रहेका चुनौतीबारे सुझाव दिएका छन् । उनले अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप एनएफआरएस परिमार्जनपछि इसिएल मोडल कार्यान्वयनमा राष्ट्र बैंकसँग काम गर्न संघ इच्छुक रहेको बताए ।

छलफलमा गभर्नर अधिकारी सहित राष्ट्र बैंकको तर्फबाट नियमन विभाग कार्यकारी निर्देशक देवकुमार ढकाल र टिकाराम खतिवडा उपस्थित थिए भने संघको तर्फबाट उपाध्यक्ष रमेश धिताल, महासचिव तेज सुबेदी लगायतको उपस्थिति रहेको संघले जनाएको छ ।

Facebook Comments